गार्सिनिया कम्बोजियामाथि गुणस्तर विभागले थाल्यो अनुसन्धान
तौल घटाउने औषधि गार्सिनिया कम्बोजियाको बिक्रीवितरणका विषयमा सरकारले अनुसन्धान थालेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दर्ता भए/नभएका हर्बल औषधिबारे अनुसन्धान शुरू गरेको हो। विभागमा दर्ता भएका तीन वटा कम्पनीका औषधि परीक्षणका लागि प्रयोगशालामा पठाइएका छन्।
ती औषधिमा स्वास्थ्यका लागि हानिकारक ‘लिड’ भए/नभएको परीक्षण गरिन लागेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। “दर्ता भएका तीन वटा कम्पनीका औषधि ल्याबमा परीक्षणका लागि पठाएका छौं। सोही कम्पोनेन्ट भएका औषधि पनि खोजिरहेका छौं,” प्रवक्ता महर्जनले भने।
त्यस्तै, गार्सिनिया कम्बोजियालाई नेपाली बजारमा ल्याएको जीएमटी नेपाल कम्पनी विभागमा दर्ता नभएको पाइएको छ। यसबारे पनि खोजबिन भइरहेको उनले बताए।
यस कम्पनीले ‘डीएफटीक्यूसी’ (खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग)मा दर्ता हुनुपर्नेमा ‘जीडीएफटीक्यूसी’ मा दर्ता भएको उल्लेख गरेको छ।
त्यस्तै, तौल घटाउने औषधि सेवन गरेका कारण सेवनकर्ता बिरामी परेको विषयमा पनि अनुसन्धान शुरू गरिएको छ। बिरामीसँग आवश्यक सोधपुछ भइरहेको उनले बताए।
केही समय पहिलेसम्म गार्सिनिया कम्बोजिया अनलाइन मार्फत खरीद गर्न पाइन्थ्यो। अहिले भने अनलाइन प्लेटफर्महरूले हटाएका छन्।
सामाजिक सञ्जालका इन्फ्लून्सरले पनि तौल घटाउने भन्दै यसको प्रचार गर्दै आएका थिए। यस विषयमा हिमालखबरले विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो।
गार्सिनिया कम्बोजिया लगायत तौल घटाउने भनेर बजारमा उपलब्ध औषधिमा कसरी र कसले सेवन गर्ने, यसमा कस्ता तत्त्वहरू प्रयोग भएका छन् भन्ने केही उल्लेख नभएको नेपाल मेडिसिटी अस्पतालकी पोषणविद् रुजु खड्काले बताइन्।
“हाम्रो अस्पतालको आईसीयूमा भर्ना भएका बिरामीलाई डिप्रेशनको समस्या रहेछ र यसको औषधि पनि खाँदै आएकी थिइन्। गार्सिनिया कम्बोजिया औषधि खाएको केही दिनमै उनको कलेजो बिग्रिएको हो,” खड्काले भनिन्, “औषधिको बट्टा नियाल्दा के तत्त्व मिलाएर बनेको केही भेटेनौं। तर रिसर्च पेपरहरू हेर्दा बायोपोलार डिस्अर्डर (मानसिक स्वास्थ्य समस्या) भएका व्यक्तिले यस्तो औषधि सेवन गर्नु हुँदैन भनेर लेखिएको रहेछ।”
गार्सिनिया कम्बोजियाको बिक्रीवितरणमा लापरवाही भएको उनीले बताइन्। यस्ता औषधिको बिक्रीवितरण नै बन्द गर्नुपर्ने खड्को भनाइ छ।
यो पनि पढ्नुहोस् : तौल घटाउने औषधि खाँदा ज्यानै जाने जोखिम