द्वन्द्वकालका गम्भीर अपराधका घटनामा दोषीलाई उन्मुक्ति नदिन आग्रह
द्वन्द्वकालका गम्भीर अपराधका मुद्दामा दोषीलाई सजायको छूट नदिन अधिकारकर्मीले आग्रह गरेका छन्।
जवाफदेहिता निगरानी समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गरी दोषीलाई ७५ प्रतिशतसम्म सजाय छूट दिने गरी प्रमुख तीन राजनीतिक दलबीच सहमति भएको भन्दै आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका संयोजक राजुप्रसाद चापागाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संक्रमणकालीन न्यायको मूल मन्त्र भनेको मानव अधिकार उल्लंघनका पीडितको ‘प्रभावकारी कानूनी उपचारको हक हो’ भन्ने यथार्थलाई हेक्का राख्न सम्बन्धित सरोकारवालालाई निगरानी समिति आग्रह गर्दछ।”
समितिले पीडितको हकलाई प्रत्यक्ष वा परोक्ष रूपमा निस्तेज पार्ने गरी जुनसुकै तहबाट गरिने निर्णय मान्य नहुने जनाएको छ। मानव अधिकारको गम्भीर उल्लंघन भएका घटनाका पीडितको प्रभावकारी कानूनी उपचारको हक नेपालको संविधान (धारा २१) एवं नेपालले स्वीकार गरेका अन्तर्राष्ट्रिय कानूनी मापदण्डहरू (नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अभिसन्धिको धारा २ समेत) अन्तर्गत प्रत्याभूत रहेको उल्लेख गरिएको छ।
यससँगै सजाय तोक्ने अधिकार अदालतको भएको स्मरण गराउँदै दोषीलाई उन्मुक्ति दिने गरी कुनै निर्णय नगर्न आग्रह गरेको छ। “अपराधको गाम्भीर्य बढाउने तत्त्वहरू (एग्राभेटिङ फ्याक्टर) र गाम्भीर्य घटाउने तत्त्व (मिटिगेटिङ फ्याक्टर)को स्वतन्त्र न्यायिक मूल्यांकनका आधारमा घटी वा बढी परिमाणको सजाय तोक्ने अधिकार अदालतमा निहित रहने विषय हो। त्यस बाहेक न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप हुने र पीडितको प्रभावकारी कानूनी उपचारको अधिकारलाई कुल्चिने गरी कानूनले नै प्रतिशत तोकेर गम्भीर अपराधका दोषीलाई सजायबाट उन्मुक्ति दिने निर्णयमा न्यायपालिकालाई बाँध्नु किमार्थ उचित हुँदैन,” विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, समितिले मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषामा गरिएको त्रुटि सच्याउन, आयुक्त छनोट प्रक्रियालाई खुला र पारदर्शी बनाउन, आयोगको स्वतन्त्रता र स्वायत्तताको पूर्ण प्रत्याभूति गर्न, गम्भीर अपराधको अभियोजनमा हदम्यादको व्यवधान हटाउन, क्षमादान र मेलमिलाप अयोग्य अपराधमा अभियोजन हुने सुनिश्चित गर्न पनि माग गरेको छ।