भोटेकोशी आयोजनाको स्ल्याब भत्किंदा च्यापिएर सात कामदार घाइते, दुई सम्पर्कविहीन
![भोटेकोशी आयोजनाको स्ल्याब भत्किंदा च्यापिएर सात कामदार घाइते, दुई सम्पर्कविहीन](https://himal.softnep.website/uploads/posts/800X600/bhotekoshi-1720185843.jpg)
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किंदा सात कामदार घाइते छन् भने दुई जनाको अवस्था अज्ञात छ।
एक वर्षअघि निर्माण शुरू गरिएको आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किएको इलाका प्रहरी कार्यालय, बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए। स्ल्याबमा च्यापिएर बर्दियाका रामदिन थारू र सुमन थारू हराइरहेका छन्। दुवै जनाको खोजी भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।
त्यस्तै, बर्दियाका लहानु थारू र दुर्गा चौधरी, दोलखाको कालिन्चोकका आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दीपक थामी, आइतमान थामी, पदमबहादुर थामी र रामचन्द्र रिमाल तथा रोल्पाका सासन रोकामगर घाइते छन्। उनीहरूको उद्धार गरी बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएको छ।
हराइरहेका दुई जनाको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताए। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ।