नेपालको शुरूआती–११ सार्वजनिक, तीन खेलाडी परिवर्तन
वाफ महिला च्याम्पियनशिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले तीन खेलाडी परिवर्तन गरेको छ।
साउदी अरबमा जारी प्रतियोगिताकाे सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी विनै फाइनल खेल्न लागेको नेपालले सेमिफाइनलमा लेबनानसँग शुरूआती ११ मा खेलेका अनिता बस्नेत र अनिता केसीलाई राखेको छैन। उनीहरूको स्थानमा प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले दीपा शाही, सविता राना मगर र रश्मिकुमारी घिसिङलाई अवसर दिएका छन्।
गोलकीपर एन्जिला सुब्बा तुम्बापोको कप्तानीमा रहेको टीम नेपालको शुरूआती ११ मा पूजा राना, अमृता जैसी, हीराकुमारी भुजेल, गीता राना, रेखा पौडेल, प्रीति राई र अमिसा कार्की छन्।
फाइनल खेल साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैजल रंगशालामा ९ः४५ बजे शुरू हुनेछ।
सावित्रा भण्डारी (साम्बा) फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन्। क्लबसँगको सम्झौता अनुसार साम्बालाई फीफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। त्यसैले उनी गएराति नै साउदी अरबबाट फ्रान्स प्रस्थान गरेकी छन्।