हिरानी हराएको ‘डंकी’
बेग्लै शैली र स्वादका चलचित्र बनाएर दर्शकको मन छोएका राजकुमार हिरानी ‘डंकी’ मा आफ्नै मानकबाट धेरै पर हुत्तिएर सतही देखिएका छन्।
एक समय फिल्ममेकर राजकुमार हिरानी ‘हीरा’ बनाउँथे। मुन्नाभाइ सिरिज (सन् २००३ र २००६) र थ्री इडियट्स (२००९) त्यही वर्गमा पर्छन्। यी चलचित्र हिरानी शैली र स्वादको मानक नै बने। त्यो ग्राफ पीके (२०१४)मा केही ओरालो लाग्यो तर त्यसमा उनले आफ्नो शिल्प कायमै राखेका थिए। सन्जु (२०१८) उनले बनाएको मानकको छेउछाउ पनि पुग्न सकेन। डंकीसम्म आइपुग्दा त यो चलचित्र हिरानीले नै बनाएको हो र भन्ने प्रश्न उठ्छ।
पानामाको जंगल हुँदै हिंडेरै अमेरिका जाने नेपाली युवा र ‘डंकी रूट’ हुँदै बेलायत छिर्न मरिहत्ते गर्ने भारतीय युवाको कथामा खासै अन्तर छैन। त्यसमाथि चलचित्रको नामै डंकी राखिएकाले अवैध बाटोबाट बेलायत छिर्न खोज्दा भोग्नुपर्ने हैरानी चलचित्रमा देख्न पाइने आशा र अनुमान हुन्छ। तर त्यस्तो नभई डंकी रूटमा कसरी हार्डी (शाहरूख खान)ले वीरता देखाउँदै आफ्नी प्रेमिकालाई बेलायत पुर्याउँछन् भन्ने कथा छ।
प्रस्तुतिका हिसाबले डंकीलाई मध्यान्तरअघि र पछि गरी दुई फरक वर्गमा राख्न सकिन्छ- मध्यान्तरअघि हिरानीको फिल्म, मध्यान्तरपछि शाहरूखको। मध्यान्तरअघि हास्यरसले भरिपूर्ण छ। मनोरञ्जन दिंदै समाजको विसंगतिको कथा भन्ने हिरानीको शैली यसमा देखिन्छ। आईईएलटीईएस परीक्षा उत्तीर्ण गर्न पात्रहरूले अपनाएको तिकडम, लाहुरेको घरमा हुने हवाईजहाजको प्रतिमा जस्ता विसंगतिलाई निर्देशक हिरानीले पेचिला व्यंग्य मार्फत पस्केका छन्।
मध्यान्तरसम्म हिरानीका पात्रहरू आममानिस हुन्छन्। शाहरूख खान जस्ता सुपरस्टारलाई समेत निर्देशकले पात्रको चरित्रमा डोर्याएको भान हुन्छ। पहिलो हाफसम्म चलचित्र उत्कृष्ट छ। तर जसै दोस्रो हाफ शुरू हुन्छ, हार्डीमा एकाएक नायकत्व उदाउँछ। चलचित्र अब कथा र निर्देशनले होइन नायकत्वले डोर्याउन थाल्छ, त्यो पनि प्रेमका लागि नायकले जे पनि गर्न सक्छ भन्ने उही परम्परागत शैलीले। नायकले खलपात्रबाट नायिकालाई उद्धार गर्ने बासी कथानक हिरानीको चलचित्रमा हेर्नु सकस हुन्छ।
दोस्रो हाफपछि चलचित्र भावनामा बग्न थाल्छ। ‘यो भूमि ईश्वरको हो। बेलायती भूमिमा हाम्रो पनि अधिकार छ’ भन्ने जस्ता संवाद होऊन् वा ‘म बेलायतमा शरण माग्न आएको त होइन तर मेरो गरीबी हेरेर न्याय देऊ’ भन्ने जस्ता तर्कले भावना पनि मजाक जस्तो लागिदिन्छ।
सर्किट पात्र होस् वा मुन्नाभाइ, र्यान्चो होस् वा पीके, हिरानीको यसअघिका चलचित्रमा यी पात्रको पहिरन वरपरका अरू पात्रको तुलनामा विशेष हुँदैनथ्यो। तर डंकीमा शाहरूखलाई ‘हिरो’ देखाउन फ्रेममा सँगै भएका अन्य पात्रको भन्दा सुकिलोमुकिलो लुगामा सजाइएको छ।
द प्रिन्टमा निधीमा तनेजाले हिरानीबारे लेखेको एउटा लेखमा भनिएको छ- ‘उनका चलचित्रका खलपात्रहरू उस्तै प्रकारका भए पनि कोही पनि ‘गलत नियत’ का हुँदैनन्। चाहे त्यो डा. अस्थाना (मुन्नाभाइ एमबीबीएस) होऊन् चाहे वीरु सहस्त्रबुद्धे (थ्री इडियट्स) या लखवीर सिंह (लगे रहो मुन्नाभाइ), यी सबै आधुनिक समाजको कलंक र पूर्वाग्रहबाट निर्मित हुन् र कथा अगाडि बढ्दै जाँदा यिनले आफ्नो कमजोरी महसूस गर्दै सुधार्दै जान्छन्।’
हिरानीको यही शैलीमा रमाउँदै आएका दर्शकलाई डंकीले भने निराश बनाउँछ। चलचित्रमा स्वीकारोक्ति र सुधारको पाटो त छैन नै, खलनायक गरीबी हो वा जसरी पनि विदेश जानुपर्छ भन्ने मान्यता वा डंकी रूटमा तैनाथ सेना भन्ने नै प्रस्ट छैन।
व्यंग्यको नाममा निन्दा
यस पटक हिरानीले ‘सटायरिकल ह्युमर’ (व्यंग्य) र ‘इन्सल्ट ह्युमर’ (निन्दा)बीचको रेखा छुट्याउन नसकेको पनि महसूस हुन्छ- कहिले साउदी अरेबियाका प्रहरीलाई ‘गधा’ भन्दै त कहिले बेलायती न्यायाधीशलाई अदालतमै ‘झूटो बोल्न लगाएको’ भन्दै। आफ्नै हजुरआमाको शव बोकेर मलामी गइरहँदा पनि विदेशमोहले तानेर कन्सल्टेन्सीतर्फ डोर्याएको दृश्य संवेदनाहीन देखाउने नाममा भद्दा मजाक र सस्तो मनोरञ्जनको उदाहरण हो।
शाहरूखलाई अभिनय गराएका कारण हिरानीले आफ्ना दर्शक पनि पठान र जवानमा रमाउनेहरू नै हुन् भन्ने ठानेर दर्शककै निन्दा गरेका छन्।
डंकी सतही चलचित्र किन पनि हो भने, यसले पनि उही संयोगवादको सहारा लिएको छ। चलचित्रमा हार्डीले ठीक त्यति वेला मन्नु (तापसी पन्नू)लाई भेट्छ जति वेला मन्नुलाई कुस्ती प्रशिक्षक आवश्यक पर्छ। संयोगवश लन्डन पुग्नासाथ आफ्नो साथीसँग भेट हुन्छ। हार्डीसँग पुनर्मिलन हुने वेलैमा मन्नु प्राणघातक रोगको शिकार हुन्छिन्। हिरानीले मुख्य पात्रलाई बिरामी पारेर दर्शकको सहानुभूति बटुल्ने सूत्र पछ्याउलान् भन्ने त कल्पनाभन्दा बाहिरकै कुरा भयो।
हिरानीले यसअघिका चलचित्रमा सामाजिक मान्यतामाथि प्रश्न उठाएको भेटिन्छ तर डंकीमा उनी तटस्थ छन्। जस्तो- डंकी रूट हुँदै आप्रवासी बन्न जानु उचित कि अनुचित? जवाफ भेटिन्न। यस्तै, देश विरुद्ध घात गर्दिनँ भन्ने पात्र र गर्छु भन्ने पात्रबीचको अन्तर चलचित्रले देखाउन सकेको छैन।
बरु जस्तोसुकै तरीकाबाट आप्रवासी बने पनि उता जन्मभूमिमा परिवारले सुखसुविधा पाएको जस्ता दृश्यले डंकी रूटलाई प्रगतिको द्वार हो भन्ने मान्यता अघि सारिएको छ। अर्कातिर मर्ने वेला आफ्नो देश नै चाहिन्छ भनेर मातृभूमिलाई वृद्धाश्रम जसरी प्रस्तुत गरिएको छ। साथै, हिरानीले अशिक्षा र गरीबीको कारण भिसा दिइँदैन भनेर भिसा नीति खुकुलो पार्नुपर्ने पैरवी पनि गरेका छन्।
अभिनय
सुखीको भूमिकामा देखिएका विक्की कौशलको अभिनयले डंकीमा प्राण भरेको छ। ‘केमियो’ भूमिकामा भए पनि सिनेमा हलबाट निस्किंदा पनि भुल्न नसकिने चरित्र उनकै हो।
शाहरूखको अभिनय स्टारडमको छायामा परेको छ। कुशल अभिनयबाट आफूलाई प्रमाणित गरिसकेकी तापसीले यस चलचित्रमा आफूलाई स्थापित गर्न सकेकी छैनन्।
हिरानीको चलचित्रमा नछुट्ने कलाकार हुन्, बोमन इरानी। डंकीमा पनि छन् तर सशक्त भूमिका दिइएको छैन। उनी केही बेर आउँछन्, दर्शकलाई मनोरञ्जन गराउँछन् अनि बिलाउँछन्। सहायक भूमिकामा भएका विक्रम कोचार र अनिल ग्रोभरको अभिनय सन्तोषजनक छ।
चलचित्र अत्यन्तै नराम्रो पनि होइन तर हिरानीको फिल्मोग्राफीमा यो सबैभन्दा कमसल चलचित्र हो। सामाजिक सचेतनाको अभाव रहेको यो चलचित्र हिरानीको निर्देशकीय क्षमताको अवसान हो। यति हुँदाहुँदै नेपाली दाजुभाइको आप्रवासी कथासँग जोडेर हेर्दा धेरै नेपाली दर्शकलाई यो चलचित्र आफ्नै परिवेशको चलचित्र बन्न सक्छ।