एक लाखमा ६ जनालाई हुने रोगबाट पीडित थिइन् सीता दाहाल
हृदयाघातबाट निधन भएकी प्रधानमन्त्रीपत्नी सीता दाहाल लामो समयदेखि एक लाखमा ६ जनालाई हुने दुर्लभ पीएसपी रोगबाट पीडित थिइन्।
नेकपा (माओवादी केन्द्र)की सल्लाहकार सीता दाहालको ६९ वर्षमा निधन भएको छ। २०११ सालमा जन्मेकी उनको २०२६ वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग विवाह भएको थियो। तीन छाेरी र एक छाेराकी आमा उनकाे असार २७ गते बिहान ८ः३३ बजे निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको चिकित्सकले बताएका छन्।
सीता लामो समयदेखि ‘प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी)’ बाट पीडित थिइन्। शुरूआतमा ‘पार्किन्सन’ ठानेर उपचार गरिएको थियो। पछि २०७४ सालमा अमेरिकाको जोन हप्किन्स् अस्पतालमा उपचारका क्रममा पीएसपी भएको पत्ता लागेको थियो।
जोन हप्किन्स् अस्पताल पुर्याउनुअघि सीताको सिंगापुरमा पनि उपचार गरिएको थियो। तर, स्वास्थ्यमा सुधार भएन। पछिल्लो समय उनको गति सुस्त भएको थियो। हातखुट्टा नचल्ने र सीधा बस्न नसकेर थला परेकी थिइन्।
पछिल्लो समय सीताले खाना निल्न, मान्छे चिन्न र आँखा देख्न छोडेको प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माले बताए। डा. शर्माका अनुसार रोगले गलाएकाले सीताको मुटु र श्वासप्रश्वासका ‘मशल’ कमजोर भएका थिए। “रोगकै कारण उहाँलाई सास फेर्न गाह्रो भएको थियो र मुटुले काम गर्न छाड्दै गएको थियो,” शर्माले हिमालखबरसँग भने, “श्वासप्रश्वास त अक्सिजन दिएर ठीक हुँदै थियो, तर मुटुले भने काम नै गरेन।”
त्यस्तै, शरीरका मुख्य अङ्गले काम गर्न छाडेका थिए। कडा किसिमका लक्षण बढेकाले विभिन्न थेरापीबाट ती समस्या व्यवस्थापन गरिंदै आएको डा. शर्माले बताए। “यो रोग लागेपछि यति लामो समय बचाउन सकिन्छ भन्ने लागेको थिएन, तर विभिन्न थेरापीको मद्दतले यहाँसम्म ल्यायौं,” डा. शर्माले भने।
गत सात वर्षमा सीताको नेपालकै अस्पतालमा उपचार हुँदै आएको थियो। सिंगापुर, अमेरिका र भारतका विभिन्न अस्पतालमा समेत उनको उपचार गरिएको थियो। रोग पत्ता लागेपछि भने उपचार सम्भव नहुने यकीन हुँदाहुँदै पनि त्यसको असर कम गर्न उपचारका लागि विदेश समेत लगिने गरेको थियो।
पछिल्लो समय रोगको असर कम गर्न खुवाएको औषधिले कमजोर बनाउँदै लगेको डा. शर्माले बताए। त्यसैले उनलाई ‘हाइड्रोथेरापी’ पद्धतिबाट समेत उपचार गरिएको थियो। चिकित्सकहरूका अनुसार पानीमा डुबुल्की मारेर गरिने उपचार पद्धतिलाई ‘हाइड्रोथेरापी’ भनिन्छ।
औषधि प्रयोग नहुने हाइड्रोथेरापी उपचार पद्धति हाडजोर्नी र नशा बाहेक अन्य रोगको उपचारमा समेत प्रभावकारी मानिन्छ। सीतालाई सिंगापुरमा उपचार गर्न लैजाँदा र नेपालमा पनि म्याग्दीको बेनीस्थित तातोपानी कुण्डमा हाइड्रोथेरापी पद्धतिबाट उपचार गरिएको थियो।
फिजियाट्री रोग विशेषज्ञ डा. राजु ढकाल यो उपचार पद्धतिबाट शरीरको कडापन र दुखाइ कम हुने बताउँछन्। उनका अनुसार नसा रोगसँगै अनिद्रा, तनाव र मानसिक रोगीलाई आनन्द महसूस गराउन हाइड्रोथेरापी पद्धतिबाट उपचार गरिन्छ।
रक्तसञ्चार तथा रगतको गुणस्तर बढाउन यो थेरापी प्रभावकारी हुने डा. ढकालको भनाइ छ। “शरीरको प्रतिरक्षा प्रणाली, पाचन प्रणाली र औषधि खाँदा हुने नकारात्मक असरलाई पनि हाइड्रोथेरापीले नियन्त्रण गर्छ,” ढकाल भन्छन्, “शरीरका अनावश्यक विकार निष्कासन गर्नु र शरीरका कोषमा पोषण भर्नु पनि यो थेरापी सहयोगी हुन्छ।”
एक लाखमा ६ जनालाई हुने रोग
पीएसपी दुर्लभ रोग हो। यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनालाई हुन्छ। सामान्यतया पीएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिमा देखिने गरेको भए पनि कसै कसैलाई यो रोगले चाँडै पनि समात्न सक्छ। पीएसपीबाट महिलाभन्दा पुरुष धेरै प्रभावित छन्।
यो रोगले शुरूआती चरणमा शरीरको चाल बिगारिदिन्छ। त्यसपछि बिस्तारै दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुन्छ। रोग बढ्दै जाँदा मानिसको मनोदशा अस्थिर हुने, अवसाद, उदासी बढ्ने र कुनै कुरामा पनि रुचि हुँदैन।
यो रोगका लक्षण पार्किन्सनसँग मिल्ने हुन्छन्। स्वास्थ्य साइट वेभमेडका अनुसार पीएसपीले मानिसलाई हिंड्न गाह्रो बनाउने, निद्रा नलगाउने र मस्तिष्कमा रक्तसञ्चारलाई सुस्त गराउने समेत गर्छ।
अमेरिकाको न्याशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोक (एनआईएनडीएस)का अनुसार पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गतिदेखि व्यक्तिको मनोदशा र सोचलाई समेत प्रभावित बनाउँछ। मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय गर्ने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ।
वेभमेडका अनुसार यो रोग लागेका मानिस मानसिक रूपमा बढी प्रभावित हुन्छन्। रोगकै कारण आफ्नो नाम, घरपरिवार तथा आफन्त बिर्सनेसम्म हुन्छ। के बोलिरहेको छु भन्ने पनि थाहै हुन्न। यस्तो रोग लागेका बिरामीलाई एक्लै छाड्नु हुन्न।
यो रोगको उपचार पद्धति र औषधि बनिसकेको छैन। यो रोगले निम्त्याउने समस्याहरूलाई भने विभिन्न थेरापीबाट व्यवस्थापन गर्न सकिन्छ। चिकित्सकहरूले पीएसपीका लागि ‘सिनमेट’ औषधि सिफारिश गरेका छन्। सिनमेटमा ‘लेभोडोपा’ नामक ‘डोपोमाइन’ हुने भएकाले हातखुट्टा बाउँडिने समस्या कम गर्छ।
त्यस्तै, ‘एन्टिडिप्रेसन्ट’ स्लीपिङ पिल्सले बिरामीलाई निदाउन तथा दुखाइ कम गर्न मद्दत गर्छ। वेभमेडका अनुसार यी औषधि तत्काललाई समस्या समाधान गर्ने मात्र हुन्, दीर्घकालीन समाधान होइनन्।