पुराना कागजात केशरमहलमा छरपस्ट
![पुराना कागजात केशरमहलमा छरपस्ट](https://himal.softnep.website/uploads/posts/800X600/keshar_library_(1)_1670247208.jpg)
केशर पुस्तकालय पुनर्निर्माणका क्रममा ऐतिहासिक दस्तावेज, पुस्तक, पुराना कागजात, विद्यार्थीका नागरिकता र प्रमाणपत्रका प्रतिलिपि छरपस्ट पारिएको छ।
देशकै पुरानो पुस्तकालय अर्थात् केशर पुस्तकालय परिसरभित्र छिर्दा कुनै कवाडीखानामा छिरे जस्तै भान हुन्छ। जताततै छरिएका काठ, फलाम, जस्तापाता। कुनै हिसाबबाट पनि पुस्तकालयको आभास हुँदैन।
हुन त २०७२ सालको भूकम्पले क्षति पुर्याएको पुस्तकालय पुनर्निर्माणको काम चलिरहेको छ। निर्माण कार्य चलिरहेको ठाउँ अलिकति धुलाम्य हुनु स्वाभाविक हो। तर, केशर पुस्तकालयमा पुनर्निर्माणका क्रममा भने पुराना दस्तावेजलाई जथाभावी छरपस्ट पारिएको छ।
पुस्तकालय परिसरमा पुराना कागजात, दस्तावेज, किताब, रिपोर्ट, चेक तथा रिसिप्ट, बजेट विनियोजन निर्णय, थेसिस पेपर, कानून सँगालो जस्ता कागजात फालिएका छन्। त्यस्तै, कैयौं विद्यार्थीका नागरिकता र प्रमाणपत्रका प्रतिलिपि, फारमहरू पनि छरपस्ट छन्। वैदेशिक अध्ययन अनुमतिपत्र लिएका विद्यार्थीका कागजात जथाभावी फालिएका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Education/keshar%20library%20%282%29.jpg)
कतिपय पुस्तक पनि त्यसरी नै फालिएका छन्। केही राम्रा, केही मुसाले खाएका त केही पानीमा भिजेका पुस्तक छन्।
यी सबै किताबको जिम्मेवारी भने केशर पुस्तकालयका कुनै पनि कर्मचारीले लिन चाहेनन्। उनीहरू यसको जिम्मेवार शिक्षा मन्त्रालय भएको बताउँछन्।
यसरी जथाभावी फालिएका कागजात, दस्तावेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन अनुमति शाखा, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायत कार्यालयका हुन्।
यी सबै कार्यालय भूकम्पअघि केशरमहलमै थिए। भूकम्पले क्षति पुगेपछि सबै सरकारी कार्यालय अन्यत्र सरेका थिए। तर, ती कार्यालयले पुराना कागजपत्र, दस्तावेज सँगै लगेनन्।
![](https://www.himalkhabar.com/uploads/editor/Education/keshar%20library%20(3).jpg)
भवन पुनर्निर्माणका क्रममा पुराना कागजात लग्न सम्बन्धित कार्यालयलाई पटक पटक पत्राचार गरेको निर्माण कम्पनी जेडसीआई खानी जोइन्ट भेन्चरले जनाएको छ। त्यसपछि शिक्षा मन्त्रालयसँग अनुमति लिएरै बोरामा राखिएका कागजात खोलिएको कम्पनीका सब-इन्जिनीयर सुरेन्द्र विक बताउँछन्। “तीन वर्षदेखि किताब बोरामा कोचेर राखिएको थियो। पानीमा भिजेका, कुहिएका भेटिएपछि सुकाउनका लागि परिसरमा छरेका हौं,” उनी भन्छन्।
अझै आधा किताब तथा कागजात बोराबाट निकाल्नै बाँकी रहेको उनले बताउँछन्। सुकाउनका लागि छरिएका कागजात फेरि बोरामै राखिने उनको भनाइ छ। तर, ती सम्हाल्नै नसकिने गरी छरपस्ट भएका छन्।
केशर पुस्तकालयमा हरेक दिनजसो पढ्न आउने पाठक विष्णु बासुला कागजात यसरी फालिएको देख्दा मन चसक्क भएको बताउँछन्। “यहाँ कति धेरै महत्त्वपूर्ण दस्तावेज छन्। यसलाई सरकारले कुनै वास्ता गरेको देखिएन। शिक्षा मन्त्रालयकै कागजात भए पनि यसरी फाल्न नहुने हो,” उनी भन्छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Education/keshar%20library%20(4).jpg)
जुनसुकै दस्तावेज पनि पुराना भएसँगै यसको ऐतिहासिक महत्त्व बढ्दै जान्छ। त्यसमाथि यी कागजात सरकारी भएकाले भविष्यमा काम लाग्छन्। यिनको संरक्षण गर्नुपर्ने बासुलाको भनाइ छ।
इतिहासकार महेशराज पन्त कुनै पनि मन्त्रालय, मन्दिर तथा अन्य कार्यालयका पुराना कागजात भविष्यमा अध्ययन अनुसन्धान गर्न काम लाग्ने बताउँछन्। तर, सरकारले इतिहासका रूपमा सञ्चित नगरेको उनको भनाइ छ।
इतिहास बुझेका व्यक्तिहरूले कतिपय किताब संरक्षण गरेर राखेका छन्, तर सरकारले अति पुराना कागजात पनि सम्हालेर राखेको छैन। इतिहासकार पन्तले सरकारका कतिपय पुराना दस्तावेज सङ्कलन गरेर सुरक्षित राखेका छन्।
हाल शिक्षा मन्त्रालयको कागजात छरिएको ठाउँमा पहिले अस्थायी ट्रस्ट थियो, जहाँ ‘केशर पुस्तकालयको केशर कलेक्शन’ का किताब राखिएका थिए। कन्स्ट्रक्सन कम्पनीले बगैंचा निर्माण गर्नुपर्ने भएकाले किताब सार्न भनेपछि ती किताब केही दिनअघि मात्र सारिएका थिए। ट्रस्ट भने कम्पनीले हटाइसकेको छ।
तस्वीर: अनिता श्रेष्ठ/हिमालखबरकेशर पुस्तकालयका कर्मचारीले ती फालिएका किताब पुस्तकालय अन्तर्गत नभएको र यसको संरक्षणको जिम्मा पनि पुस्तकालयको नभएको बताउँछन्। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भूकम्पपछि काम नलाग्ने कागजात त्यहाँ राखिएको जनाउँछन्।
उनी प्रयोग भइसकेका कागजात छाडिएको र हाल सुकाउने अनुमति दिइएको बताउँछन्। “केही कागजातको समयसीमा रहेसम्म हामीले सुरक्षित रूपमा राख्ने हो। प्रयोगमा आइसकेको र समयसीमा सकेकालाई कन्ट्र्याक्टमा बेच्न मिल्छ,” प्रवक्ता शर्मा भन्छन्, “अहिले सुरक्षित राख्नुपर्ने कागजात छुट्याउन बाँकी नै छ।”