बागमतीको मुख्यमन्त्रीको दौडमा ६ उम्मेदवार
बागमती प्रदेशमा प्रमुख चार पार्टीका ६ जना उम्मेदवार मुख्यमन्त्रीको दाबी गरेर चुनावी अभियानमा खटिइरहेका छन्।
२०७४ सालमा नेकपा (एमाले)ले एकल बहुमत प्राप्त गरेको बागमतीमा यस पटक भने कुनै पनि पार्टी ढुक्क छैनन्। त्यसैले आधिकारिक रूपमा कुनै पनि दलले मुख्यमन्त्रीको अनुहार अघि सारेका छैनन्। तथापि, एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ६ जना उम्मेदवार मुख्यमन्त्रीको दाबेदार देखिएका छन्।
कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीको मुख्य दाबेदार मानिएका छन्। उनीसँगै अर्का नेता आनन्दराम पराजुली पनि मुख्यमन्त्रीको दौडमा छन्।
एमाले विभाजनसँगै प्रदेश सरकार ढलेपछि सत्तारूढ गठबन्धनमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। तर, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले आठ महीनापछि सरकारको नेतृत्व छोड्न मानेनन्। जसले गर्दा कांग्रेसका नेता बानियाँ मुख्यमन्त्री बन्नबाट वञ्चित भए।
आगामी निर्वाचनका लागि भने मुख्यमन्त्रीकै लागि बानियाँ प्रदेश सभा सदस्यको उम्मेदवार बनेको उनी निकट नेता बताउँछन्। उनी मकवानपुर २ ‘ख’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन्। गत निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए।
त्यस्तै, अर्का कांग्रेस नेता पराजुली २०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा झिनो मतान्तरले पराजित भएका थिए। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत उनलाई उपमहानगरको मेयरको उम्मेदवार बनाउने तयारी थियो। तर, एकीकृत समाजवादीको भागमा परेपछि उनी रोकिएका थिए। यस पटक भने उनी मकवानपुर १ ‘ख’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन्।
सत्तारूढ गठबन्धनकै घटक माओवादीबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्रीको दौडमा छन्। उनी अहिले बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री छन्।
उनी प्रदेश सरकार गठन भएदेखि प्रायः सत्तामै छन्। एमाले–माओवादीको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री थिए। अहिले गठबन्धनको सरकारमा आर्थिक मामिला तथा कानून मन्त्री छन्।
उनले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न खोजेका थिए। तर, मुख्यमन्त्रीका रूपमा दाबी गर्न पार्टीले प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको माओवादी नेताहरू बताउँछन्। धादिङ १ ‘ख’ बाट उम्मेदवार बनेका छन्। गत निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
त्यस्तै, एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्रीको दाबेदार छन्। अहिले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री रहेका उनी मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेपछि भावी मुख्यमन्त्रीको दौडमा छन्।
यसअघि उनी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री बनेका थिए। १५ दिन मन्त्री पद सम्हाले पनि सरकारबाट राजीनामा दिएर एमालेबाट विभाजित भएको एकीकृत समाजवादी रोजेका थिए। खनाल चितवन १ ‘ख’ बाट प्रदेश सभा सदस्य पदको उम्मेदवार छन्।
प्रमुख प्रतिपक्ष दल एमालेबाट पनि दुई जना मुख्यमन्त्रीको दाबेदार छन्। प्रदेश सभा सभामुख सानुकुमार श्रेष्ठ भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा देखिएका छन्। उनी काठमाडौं २ ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन्।
त्यस्तै, अर्का दाबेदारमा देवी ज्ञवाली छन्। २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी नेत्री रेणु दाहालसँग पराजित भएर चर्चामा आएका उनी यस पटक भने प्रदेश मुख्यमन्त्रीको दौडमा छन्। उनी चितवन २ ‘ख’ बाट उम्मेदवार बनेका छन्।