पोखरामा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु, एक घाइते
![पोखरामा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु, एक घाइते](https://himal.softnep.website/uploads/posts/800X600/pahiro_1659322515.jpg)
पोखरा महानगरपालिका-६ डिहिकोपाटन पँधेरोमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु र एक घाइते भएका छन्।
आइतबार बेलुकादेखि परेको अविरल वर्षाका घरमाथिबाट झरेको पहिरोले पँधेरोस्थित लक्ष्मी खड्का क्षेत्रीको ब्लकले बनेको कच्ची घरको कोठा पुरिंदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए।
माछापुच्छ्रे गाउँपालिका-१ भुर्जुङखोला तातोपानीका सन्तोष उक्त घरमा डेरा गरी बस्दै आएका थिए। यस्तै‚ पहिरोमा परी सन्तोषकी दिदी २७ वर्षीया सुनीता सुनार घाइते भएकी छन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। सुनीताको १० वर्षीय छोराको सकुशल उद्धार गरिएको डीएसपी तिवारीले जानकारी दिए।
उद्धारमा जिल्ला प्रहरी कार्यालयको २५ जनाको टोली खटिएको छ। सन्तोषलाई राति नै उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा नै उनको मृत्यु भएको हो।