अर्थमन्त्री शर्माले सदनमा नदिएको जवाफ
संसद्मा अर्थमन्त्री जनार्दन शर्माको जवाफ फितलो मात्र छैन, उनले आफूमाथिको संगीन आरोपको तर्कपूर्ण प्रतिवाद समेत गर्न सकेका छैनन्। खास समूहलाई पोस्न करका दर हेरफेर गरेको आरोप लागिसकेपछि अर्थमन्त्री शर्माले कुन कुन शीर्षकमा करका दर हेरफेर गर्नुको औचित्य र आवश्यकता किन परेको हो भनेर संसद्लाई जवाफ दिनुपर्छ।
विनियोजन विधेयकबारे उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री जनार्दन शर्माले बिहीबार संसद्मा करको दरहरू कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दाबी गरे । उनले भने, “करका दररेटहरूप्रति म पूर्ण रूपमा जवाफदेही छु, जिम्मेवारी लिन्छु।”
आगामी आर्थिक वर्षको बजेटमा करका दरहरू हेरफेर मार्फत अर्थमन्त्री शर्माले खास समूहलाई पोस्न खोजेको आरोप लागेको छ। यस सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले छानबिनको माग गरेका छन्। बिहीबार एमाले सांसदहरूले अर्थमन्त्री शर्माले संसद् बैठकमा जवाफ दिइरहँदा बैठक नै बहिष्कार गरे।
अनधिकृत व्यक्ति समावेश भएर बजेट निर्माण गरिएको भन्ने गम्भीर आरोप अर्थमन्त्री शर्मामाथि लागेको छ। बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिनको राति अर्थ मन्त्रालयमा मध्यराति अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गरेको उनीमाथि प्रश्न उठेको छ। तर, शर्माले संसद्मा टालटुले जवाफ दिएर यो गम्भीर आरोपबाट उम्किन खोज्ने प्रयत्न गरेका छन्।
बैठकमा उनले भनेका छन्, “को मान्छे भित्र आए र को बाहिर गए भनेर मलाई जानकारी हुने कुरा होइन। साढे ११ बजे पुल्चोक (मन्त्री निवास) गएर आराम गरेको छु र बिहान ६ बजे मन्त्रालय फर्किएको जानकारी गराउन चाहन्छु।”
यसले आफूले जिम्मेवारी सम्हालेको विभागीय मन्त्रालय सम्बन्धी गम्भीर विषयमा अर्थमन्त्री शर्मा असंवेदनशील भएको छनक दिन्छ। संसद्मा उनको जवाफ फितलो मात्र छैन, उनले आफूमाथिको संगीन आरोपको तर्कपूर्ण प्रतिवाद समेत गर्न सकेका छैनन्। खास समूहलाई पोस्न करका दर हेरफेर गरेको आरोप लागिसकेपछि अर्थमन्त्री शर्माले कुन कुन शीर्षकमा करका दर हेरफेर गर्नुको औचित्य र आवश्यकता किन परेको हो भनेर संसद्लाई जवाफ दिनुपर्छ। यो अर्थ मन्त्रालयका अधिकारीहरूले तय गर्ने कुरा हो भनेर पन्छिन मिल्दैन।
हरेक वर्षको बजेटमा फेरबदल हुने करका दरका विषयमा सधैं विवाद हुँदै आएको छ। आर्थिक अध्यादेशले गर्ने करका दरको परिवर्तन सधैं पेचिलो यस कारण हुन्छ, सानो अङ्कको फेरबदलले खास समूहलाई लाभ दिन वा कस्न मिल्छ। स्वाभाविक रूपमा करको दर चलाउँदा यथास्थितिको कर प्रणालीबाट लाभ पाइरहेको समूह चिढिन्छ, अर्को समूह खुशी हुन्छ। तर, करका दर फेरबदलको औचित्य पुष्टि गरिनुपर्छ र देशहित पहिलो प्राथमिकतामा पर्नुपर्छ।
अर्थमन्त्री शर्मामाथि फलाम, विद्युतीय गाडी, स्यानिटरी प्याड, चाउचाउ, बिस्कुट, जुत्ता आदिमा नियतपूर्वक खास व्यावसायिक समूहलाई लाभ दिन करका दर हेरफेर गरेको आरोप लागेको छ। तर, उनले यस्ता दरहरू किन परिवर्तन गर्नुपर्ने आवश्यकता पर्यो र त्यसले देशलाई के लाभ दिन्छ भनेर बुँदागत र विषयभित्र छिरेर जवाफ दिन सकेका छैनन्।
शर्माले देशको डलर सञ्चिति, आयात र उत्पादनलाई ध्यान दिएर औद्योगिक क्षेत्रलाई अघि बढाउने उद्देश्यले करका दर हेरफेर गरिएको भनेर एकमुष्ट जवाफ दिएका छन्। तर, त्यत्ति जवाफले उनीमाथि लागेको चलखेलको गम्भीर आरोपबाट उन्मुक्ति पाउँदैनन्। उनले करका दर फेरबदलको आवश्यकताको औचित्यलाई देखाउनुपर्नेछ।
पक्कै पनि, अर्थ मन्त्रालयले करका दर हेरफेरको लाभ-हानिबारे अध्ययन गरेको हुनुपर्छ। यदि त्यस्तो अध्ययन गरेको रहेनछ वा अर्थमन्त्री शर्माले देखाउन सकेनन् भने चलखेलको आशङ्का थप बलियो हुन्छ।
यसै पनि नेपालमा करका दरहरूका विषयमा संसद्मा यथेष्ट छलफल हुँदैनन्। अर्थ मन्त्रालयका अधिकारीहरूले तय गर्ने दरहरूलाई संसद्ले सधैं विना प्रश्न पारित गर्दै आएको छ। आगामी वर्षको बजेटमा हेरफेर गरिएको करका दरले विवाद निम्त्याएपछि संसदले यो विषयमा भित्र छिरेर हेर्नु उचित हुन्छ।