पोखराको मेयरमा कांग्रेस नेताको बागी उम्मेदवारी
![पोखराको मेयरमा कांग्रेस नेताको बागी उम्मेदवारी](https://himal.softnep.website/uploads/posts/800X600/risi_sapkota_1650878174.jpg)
पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता ऋषि सापकोटाले बागी उम्मेदवारी दर्ता गरेका छन्।
उनी कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन्। कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिन बाध्य पारेको विरोधमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ। “कांग्रेसले आफ्नो मूल्य-मान्यता, सिद्धान्त विपरीत कार्यकर्तालाई भोट दिन लगायो। यसैको विरोध स्वरूप मेरो उम्मेदवारी हो,” सापकोटाले भने।
त्यस्तै, आइतबार कांग्रेसका नेता विमलबहादुर कार्कीले पनि मेयरमा उम्मेदवारी दिएका थिए। उनले पनि कांग्रेस मतदातालाई अन्य चिह्नमा भोट दिन बाध्य पारिएकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए।
सत्तारूढ गठबन्धनमा भएको सहमति अनुसार, पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी) का नेता धनराज आचार्यलाई उम्मेदवार बनाइएको छ। तर, कांग्रेस नेताहरूले भने विरोध गरेका छन्।