देउवाले एमसीसीमा सघाउन आग्रह गरेपछि ओलीले भने– पहिला हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुस्
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू बीचको छलफल विना निष्कर्ष सकिएको छ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा ठोस सहमति नजुटेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
“प्रधानमन्त्रीज्यूले एमसीसी अनुमोदन गर्न सघाउन आग्रह गर्नुभयो,” छलफलमा सहभागी कार्कीले भने, “ओलीज्यूले हामी जुन कारणले संसद्मा प्रवेश गर्न सकिरहेका छैनौं, पहिला त्यो हटाउनुस् अनि मात्रै त्यहाँ गएर एमसीसीबारे विचार राख्न सक्छौं भन्नुभयो।”
एमालेसँगको छलफल निरन्तर जारी रहने मन्त्री कार्कीले जानकारी दिए। अर्को प्रश्नको जवाफमा उनले सत्ता गठबन्धन नटुटेको प्रतिक्रिया दिए।
भेटवार्तामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए।
यसअघि आजै प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच संसद् भवन नयाँबानेश्वरमा ‘वान अन वान’ र शीर्ष नेताको तहमा छलफल भएको थियो।