सत्ता गठबन्धन धरापमा परिसक्यो: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तारूढ गठबन्धन धरापमा परिसकेको बताएका छन्।
नेकपा (एमाले) र कांग्रेसका शीर्ष नेताहरूबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार भएको छलफलपछि थापाले गठबन्धन सङ्कटमा पुगेको बताएका हुन्।
“अब गठबन्धनबाट पार लाग्दैन, एमसीसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक छैन,” शीर्ष नेताको भेटमा सहभागी थापाले, “यो गठबन्धन अघि जान सक्दैन। धरापमा पुगिसक्यो।”
छलफलमा सहभागी एक नेताका अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न आग्रह गरेका थिए।
प्रतिनिधि सभा बैठक स्थगन भए लगत्तै भएको छलफलमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेस महामन्त्री थापा सहभागी थिए।
त्यस लगत्तै देउवा र ओलीबीच ‘वान अन वान’ वार्ता भएको थियो। एमाले र कांग्रेस नेताबीच साँझ ७ बजे पुनः छलफल हुने भएको छ।