प्रतिनिधि सभा सदस्य जानकीदेवी रामले लिइन् शपथ
नेकपा (एमाले) नेत्री जानकीदेवी रामले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छिन्।
आइतबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले रामलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपा (एमाले) की सांसद सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा राम निर्वाचित भएकी थिइन्।
सांसद शिवाको २८ असोजमा निधन भएको थियो। उनको निधनपछि समानुपातिकतर्फको पद रिक्त थियो।
निर्वाचन आयोगले १९ चैतमा सिरहाको गोलबजार नगरपालिका–१ की नेत्री राम समावेशी दलित कोटामा निर्वाचित भएको संसद् सचिवालयलाई जानकारी गराएको थियो। संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ।
कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधि सभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई दिएका छन्।