संवैधानिक आयोगका नियुक्तिको सिफारिस सभामुखद्वारा फिर्ता
संवैधानिक परिषद्ले विभिन्न आयोगमा गरेको नियुक्तिको सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन्।
संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायत विभन्न निकायमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो। परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको थियो।
संसद् सचिवालयमा पठाएका नाममा संसदीय सुनुवाइ हुन नसक्ने जनाउँदै सभामुख सापकोटाले फिर्ता पठाएका हुन्। संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रेस विज्ञप्ति जारी गरि संवैधानिक परिषदले पठाएका नाम फिर्ता गरेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय सभामुखले आफूमा निहित अधिकार प्रयोग गरि सक्कलै कागजात संवैधानिक परिषद् सचिवालयमा फिर्ता पठाउनुभएको छ।’
प्रतिनिधि सभाको विघटन भएपछि संसदीय सुनुवाइ समितिको कार्यविधि स्वतः समाप्त हुने भएकाले सुनुवाइ गर्न नसकिने अवस्था रहेको, प्रतिनिधिसभा विघटन भएपछि पत्रहरु सचिवालयमा प्राप्त भएको, संविधान र संवैधानिक मूल्य र मान्यताविपरित हुने गरि संवैधानिक परिषद् ऐन २०६६ मा व्यवस्था भएको भन्दा फरक किसिमले अध्यायदेश जारी गरिएकले सिफारिस फिर्ता गरिएको जनाएको छ।
त्यस्तै, परिषदका सदस्य रहेका सभामुखलाई जानकारी नै नदिई बैठक बसेको अवस्थामा सिफारिस र पत्राचार गरेको तथा संसदीय सुनुवाइ समिति समक्ष पेश गर्न सक्ने अवस्था नरहेको हुँदा नेपालको संविधानको धारा २ र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०७५ को नियम ६ बमोजिम फिर्ता पठाएको जनाएको छ।
सरकारले संवैधानिक परिषद् ऐनलाई अध्यादेशमार्फत संशोधन गरेर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेको थियो। त्यसको संसदीय सुनुवाइका लागि ५ पुसमा संसद् सचिवालयमा पत्राचार गरेको थियो।
सभामुख सापकोटाले फिर्ता पठाएको विषयमा राष्ट्रपतिलाई पनि जानकारी दिएको छ। त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक परिषदका सदस्य, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेतालाई जानकारी दिएको छ।