राष्ट्रिय सभाको सातौं अधिवेशनको सात घण्टामा के-के भयो ?
१७ पुसमा शुरू भएको राष्ट्रिय सभाको सातौं अधिवेशन १० दिन बैठक बसेर सकिएको छ। गत असारमा संघीय संसद अधिवेशन अन्त्य गरिएकोमा त्यसको ६ महीनामा प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन मात्र आह्वान गरिएको थियो। तर, १० दिन चालु भएको अधिवेशन चार दिनमा चार वटा बैठक बसेर अधिवेशन आजै मध्यरातदेखि लागू हुनेगरी अन्त्य भयो।
संसद सचिवालयका अनुसार ४ दिनमा ४ वटा बैठक बसेर ७ घण्टा ५ मिनेट सभाको काम भएको थियो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए भने त्यसअघिका बैठकहरूमा ७ वटा अध्यादेश पेश भयो।
सातौं अधिवेशनमा पेश भएका ७ वटा अध्यादेश
-संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
-तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७
-नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, २०७७
-सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७
-औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७
-यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७
-फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७
त्यसैगरी, यो अधिवेशन अवधिमा राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरूको गठन सम्बन्धी आदेश, २०७७ सभामा पेश भएर सर्वसम्मतिबाट अनुमोदन भएको थियो। यसै अधिवेशन अवधिमा सभाले वामदेव गौतमलाई राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको पनि संसद सचिवालयले जनाएको छ।
यो अधिवेशन अवधिमा मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ र थारू आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ सभा समक्ष पेश गरियो। अधिवेशनमा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७ र विधायन व्यवस्थापन समितिले 'विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७' सभा समक्ष पेश गरेको थियो।
शोक प्रस्ताव पारित
यस अधिवेशनमा वर्तमान सांसद तथा पूर्व सांसदहरूको निधनमा शोक प्रस्तावहरू पनि पारित गरेको कार्यविवरणमा उल्लेख छ। जसमा प्रतिनिधि सभा सदस्यहरू सानु सिवा र सूर्यबहादुर केसी, राष्ट्रिय सभाका पूर्वसदस्यहरू दीपकबहादुर गुरुङ, इन्द्रहाङ्ग लिम्बू र राममान श्रेष्ठ, संविधान सभा सदस्यहरू भीमप्रसाद गौतम र मानपुर चौधरी तथा प्रतिनिधि सभाका पूर्वसदस्यहरू ओमकारप्रसाद गौचन र बीरबहादुर लामा एवं २०६३-६४ को अन्तरिम व्यवस्थापिकाका सांसद (पूर्वसदस्य) कमानसिं लामाको निधन भएकोमा शोक प्रस्ताव पारित गरिएको छ।