राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य
संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सातौं अधिवेशन अन्त्य भएको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सोही बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने पत्र संघीय संसदलाई पठाएकी हुन्। पत्रको व्यहोरा आजको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए।
१७ पुसमा शुरू भएको राष्ट्रिय सभाको सातौं अधिवेशन १० दिन चालु रह्यो। यो अवधिमा चारवटा बैठक बसेको र जसमा ७ वटा अध्यादेश, विभिन्न आयोग तथा राष्ट्रिय सभाको विभिन्न समितिहरूका प्रतिवेदन पेश भएको जानकारी बैठकसमक्ष अध्यक्ष तिमिल्सिनाले जानकारी गराए।
बैठकमा विभिन्न विषयमा राष्ट्रियसभा सदस्यहरूले उठाएका जिज्ञासालाई आज प्रधानमन्त्रीले जवाफ दिएका थिए। आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बैठकमा सम्बोधन गरेका थिए।
संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा भने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ५ पुसमा विघटन गरेकी थिइन्।