स्वास्थ्यमन्त्रीले भने- ‘स्वास्थ्य सामग्री खरीदमा मेरो संलग्नता छैन’
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री ढकालले स्वास्थ्य सामग्री खरीदमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन्।
उनले स्वास्थ्य सामग्री खरीदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको दाबी गरे। तर, आफूले मन्त्रालयको नेतृत्व गरेकाले महामारीको विरुद्धमा सहजीकरण गर्न नीतिगत रूपमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताए।
“यसमा मन्त्रीको हिसाबले, मन्त्रालयमा नेतृत्व गरेको हिसाबले आर्थिक र अन्य विषयसँग सरोकार राख्ने, त्यसलाई प्रभावित गर्ने खालको विषयमा मेरो संलग्नता नरहेको र महामारीका विरुद्ध सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रूपमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने खालको विषयमा मन्त्रीको हिसाबले सहमति जनाएको छु”, उनले भने।
त्यसबाहेक अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेप आफूले नगरेको मन्त्री ढकालले दाबी गरे। मन्त्री ढकालले ९ चैत २०७६ को मन्त्रिपरिषद्को निर्णय भए अनुरूप ११ चैतमा उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धमा १२ चैतका निर्णय भएको बताए।
१२ चैतमा दिउँसो १ बजेदेखि ३ बजेसम्म स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा सहभागी भएको तर, त्यसपछिका कुनैपनि कार्यक्रममा सहभागी नभएको मन्त्री ढकालले जिकिर गरे।
“त्यो भन्दा पछि ७ वटा समूह छनोट गर्ने कुरा, त्यो पछिका अरु प्रक्रियामा सम्बन्धित विभाग र विभागको महानिर्देशककै नेतृत्वमा यी कामहरू भएका हुन्”, मन्त्री ढकालले भने।
यसैबीच, शुक्रबार नै बसेको लेखा समितिको बैठकले स्वास्थ्य सामग्री खरीद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ।