सात दिनभित्र उखु किसानलाई भुक्तानी दिन सरकारलाई संसदीय समितिको निर्देशन
संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी सात दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिनभित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उखु किसानलाई सात दिनभित्र भुक्तानी गराउने काम सम्पन्न गरी त्यसको विवरण समितिमा उलब्ध गराउन निर्देशन दिए।
“सात दिनभित्र उद्योग मन्त्रालयले उखु कृषकहरूलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरणसहित अर्को हप्ता समितिलाई जानकारी गराउने”, सभापति श्रीवास्तवले भने।
यस्तै, समितिको बैठकले देशभरका श्रमिकहरूले पारिश्रमिक पाए÷नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्र समितिमा प्रतिवेदन पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पनि निर्देशन दिएको छ।
सभापति श्रीवास्तवले भने, “मन्त्रालयले श्रमिकहरूका विषयमा स्थलगत अध्ययन गरी श्रमिकहरूले पाउनुपर्ने सुविधाहरू, तलब, पारिश्रमिक के कति पाए, के कति पाएनन् सोको आवश्यक छानबिन गरी आवश्यक कारबाही समेत गरी १५ दिनभित्र यो समितिमा प्रतिवेदन पेश गर्ने।”