राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना भन्छन्- चुनावमा भोट माग्न गए जस्तै महामारीमा पनि जनताको घरघरमा सभासद पुग्नुपर्छ
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरूको भएको बताएका छन्।
'कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रकोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरू नागरिकको घरघरमा पुग्नुपर्ने बताएका हुन्।
यस्तै राजनीतिक दलहरूले पनि आफ्ना भातृसंगठनहरूलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने बताए। यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्यमाथि समेत बलियो आधार तयार हुने उनको भनाइ छ। कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलो मै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुरूमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए। तर पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताए। अबको चार महीनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टी हुनसक्ने अनुमान पनि सरकारले गरेको उनले बताए। सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दावी गरे। सामर्थ्य अनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उनको भनाइ छ।
कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए। उनले अहिले पनि कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताए। सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको उनको भनाइ छ।
यस्तै विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरुलाई पनि भ्याक्सिन दिलाउन सकियोस भन्नेतर्फ सरकारले ध्यान केन्द्रीत गरी काम गरिरहेको पनि मन्त्री ढकालले बताए।