लोकदर्शन रेग्मी भन्छन्- राजदूत पाउन पदको दुरूपयोग गरेको छैन
बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पारेका छन्। संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदहरूको प्रश्नको जवाफ दिँदै रेग्मीले राजदूत पाउन आफुले पदको दुरुपयोग नगरेको स्पष्ट पारेका हुन्।
सनुवाइका क्रममा सांसदहरूले राजदूत पाउनका लागि मुख्य सचिवबाट राजीनामा दिएको भन्दै प्रश्न गरेका थिए। प्रस्तावित राजदूत रेग्मीले अहिलेको संविधान र कानुन बमोजिम सरकारले गरेको निर्णयलाई शिरोधार्य गरेको बताए। तर पद पाउनैका लागि मात्रै राजीनामा नगरेको पनि उनले तउक गरे। राजदूत पद परराष्ट्र मन्त्रालयको मात्रै विषय नभएकाले यसलाई मुलुकको प्रतिनिधित्वको रुपमा लिनुपर्ने उनको भनाइ थियो।
यस्तै सार्वजनिक पदमा रहेका बेला आफूले कुनै किसिमको आर्थिक अनियमितता नगरेको, आर्थिक आर्जन गरी कुनैपनि व्यक्तिको नाउँमा रकम नराखेको बताउँदै राज्यका जुनसुकै निकायबाट छानविन भएमा आफू सघाउन तयार रहेको बताए।
सनुवाइमा सांसदहरूले मुख्य सचिवमा पदबाहली रहेको बेला राजीनामा दिएर राजदूतको सिफारिस लिन जाँदा कर्मचारीतन्त्रको रुपरेखा बिग्रीएको भन्दै आपत्ति जनाएका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले मुख्यसचिव पद बीचैमा छाडेर हिँडदा कर्मचारीतन्त्रकै रुपरेखा बदलिएको बताए।
सरकारी नोकरी सकिएपछि तत्काल अर्को नियुक्तीमा जानुपर्ने प्रवृति देखा परेको भन्दै त्यसलाई नियन्त्रण गर्न कुलिङ पिरियडको व्यवस्था गर्नुपर्ने स्थिति देखिएको उनले बताए। नेपाली कांग्रेसकी सांसद पुस्पा भुषालले पनि मुख्यसचिव हुँदाहुँदै राजीनामा दिएर अर्को नियुक्ती लिदा कर्मचारी तन्त्रमा नराम्रो असर परेको बताइन्।
मुख्य सचिवबाट दिएको राजीनामाको सिफारिस भएको मन्त्रिपरिषद् बैठकबाटै राजदूत सिफरिस हुनुले पदको दुरूपयोग गरिएको हुनसक्ने सांसदहरूले बताए। तर रेग्मीले अहिलेको संविधान र कानून बमोजिम सरकारले गरेको निर्णयलाई नै आफुले शिरोधार्य गरेको जवाफ दिएका थिए।