संसदीय सुनुवाइमा खतिवडालाई सांसदहरूको प्रश्न: अर्थमन्त्री हुँदा पास गर्न नसकेको एमसीसी राजदूत भएपछि कसरी सक्नुुहुन्छ?
अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाको सुनुवाइमा सांसदहरुले एमसीसी, क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरण, एनसेल, स्वेतपत्र लगायतका विषय उठाउँदै प्रश्न गरेका छन्।
संघीय संसदको संसदीय सुनुवाई समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरूले अर्थमन्त्री खतिवडाले विगतमा गरेका कामहरूलाई लिएर कडा प्रश्न गरेका हुन्। सुनुवाइका क्रममा नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री भएको बेला एमसीसी पारित गराउन भूमिका खेल्न नसक्नेले राजदूत भएर कसरी भूमिका खेल्नुहुन्छ भन्दै प्रश्न गरे।
यस्तै डा. खतिवडा अर्थमन्त्री भएलगत्तै ल्याएको स्वेतपत्रमा अर्थतन्त्रको अवस्था कमजोर देखाइएको भन्दै पाण्डेले प्रश्न गरे। देशमा उच्च आर्थिक वृद्धि भएको अवस्थामा अर्थतन्त्र कोल्याप्स हुन लागेको जस्तो स्वेत पत्र जारी गर्नु अनुचित भएको उनको भनाइ थियो। यस्तै क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणको सम्बन्धमा समेत सांसद पाण्डेले स्पष्ट पार्न आग्रह गरेका थिए। त्यसबाहेक एनसेल प्रकरणमा सर्वोच्च अदालतको फैसलाको बारेमा केही मुद्दा चलेको भन्ने सुनिएको र त्यसमा अर्थमन्त्री हुँदा मुद्दाको प्रतिवादी नलगाउन निर्देशन दिएको भन्ने प्रश्न उठेको भन्दै स्पष्ट पार्न सांसद पाण्डेले आग्रह गरे।
नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डा. खतिवडा अर्थमन्त्री हुने बित्तीकै ल्याएको स्वेत पत्रलाई लालपत्रको संज्ञा दिए। उनले स्वेतपत्र प्रस्तुत गरेर आफ्नै विश्वसनियतामाथि प्रश्न उठाउने काम गरेको बताए।
सुनुवाइमा नेपाली कांग्रेसकी सांसद पुस्पा भुषालले डा. खतिवडा अर्थमन्त्री भएपछि धेरै गलत निर्णयहरू गरेको बताइन्। विद्युतीय मोटर र पुस्तकमा कर बढाउने र चक्लेटमा घटाउने काम गरेको र अर्थमन्त्रीबाट हटने बित्तीकै सरकारले नै त्यसलाई उल्ट्याउने निर्णयले डा. खतिवडाका निर्णयहरू गलत थिए भन्ने पुष्टि भएको उनले बताइन्। राजदूत भएर एमसीसीको प्रक्रिया अगाडि बढाउन भूमिका खेल्ने आधार स्पष्ट पार्न समेत उनले आग्रह गरिन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शिवकुमार मंडलले अर्थमन्त्री भएको बेला आफ्नै नातेदारले चक्लेटजन्य वस्तुहरू आयात गर्ने व्यवसाय गर्ने भएकाले कर घटाइदिएको आरोप लागेको भन्दै स्पष्ट पार्न आग्रह गरे।
नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले डा. खतिवडालाई राजदूत नियुक्त गरेर प्रधानमन्त्री ओली चुकेको बताए। देशलाई आवश्यक पर्ने व्यक्ति देशभित्रै बसेर काम गर्नुपर्नेमा राजदूत बनेर अमेरिका पुग्नु व्यक्तिगत स्वार्थको लागि मात्रै हुने उनको तर्क थियो। नेपाली कांग्रेसका अर्का सांसद भिमसेनदास प्रधानले डा. खतिवडालाई जहिले पनि पद चाहिने गरेको आरोप लगाए। आर्यघाट नपुग्दासम्म पदमै बसिरहनुपर्ने प्रवृतिले देशको विकासमा बाधा पुगेको उनको भनाइ थियो।
सुनुवाइमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्र प्रसाद श्रेष्ठले क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणमा डा. खतिवडा गभर्नर भएको बेला मतियारको रुपमा काम गरेको आरोप लगाए। तत्कालिन समयमा बैंकिङ कसुर अनुरुप कारबाही हुनुपर्ने व्यक्तिहरूलाई कारबाही गर्न डा. खतिवडाले उपयुक्त कारबाही चलाउन नसकेको सन्दर्भमा उनले प्रश्न गरेका थिए।
सांसदहरूको प्रश्नको जवाफमा पूर्व अर्थमन्त्री एवं अमेरिकाका लागि प्रस्तावित राजदूत डा. खतिवडाले अहिलेपनि अर्थतन्त्र सही ठाउँमा नरहेको बताए। उनले देशको राजस्व र खर्चप्रणाली चापमा रहेको र सबै बजेट खर्च गर्ने हो भने स्रोतमा चाप पर्न सक्ने स्थिति अहिले पनि रहेको बताए। उनले आफुले स्वेतपत्रमा उल्लेख भएका समस्याहरू अहिलेपनि रहको तर केही हदसम्म आफूले सुधार गरेको दावी गरे।