यु्वराज खतिवडाको प्रश्न- 'संघको मन्त्री प्रदेशको मन्त्री हुन मिल्ने, म राजदूत हुन किन नमिल्ने ?'
अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले आफूले अमेरिकाको राजदूत हुन कहिल्यै पनि सरकारसँग प्रस्ताव नगरेको बताएका छन्। संघीय सरकारको मन्त्री समेत भइसकेको व्यक्ति राजदूतका लागि जानु प्रोटोकलले मिल्छ भन्ने सांसदको प्रश्नमा उनले संघका मन्त्रीहरू प्रदेशमा गएर मन्त्री बनेका छन् भने आफू पनि जान मिल्ने तर्क गरेका थिए।
उनले प्रोटोकल भावना र कानूनी मर्यादाको कुरा भएको उल्लेख गर्दै कतिपय मन्त्री भएका व्यक्तिहरु राजदूत भएको समेत बताए। "कहाँ भूमिका आवश्यक पर्छ त्यहाँ निभाउने हो। राज्यले दिएको जिम्मेवारीमा मेरो प्रोटोकल मिलेन कि भन्दा आफूले जे भूमिका निर्वाह गर्न सकिन्छ त्यो भूमिका खोज्ने हो" उनले भने, "अमेरिकाको राजदूत हुनका लागि कहिल्यै पनि प्रस्ताव गरेको होइन। सरकारले त्यहाँ सिफारिश गरेको छ र जाने हो। मैले त्यहाँ पनि मन्त्रीसरहकै प्रोटोकल हुन्छ भनेर सुनेको छु। सिफारिश भयो भने त्यो कुरामा स्पष्ट पनि हुँला।"
उनले नेपालको स्वाधीनता, सुरक्षा र राष्ट्रिय हित दिगो शान्तिका लागि कूटनीतिक सम्बन्धलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न दुई पक्षीय र बहुपक्षीय सहयोग जुटाउन भूमिका खेल्ने बताए। नेपालमा बाह्य लगानीको आवश्यकता रहेकाले उच्च सम्भावना भएका क्षेत्रमा विदेशी लगानी ल्याउन प्रोत्साहन गर्ने, नेपाल र अमेरिकाबीच भन्साररहित व्यापारको सुविधा रहेकाले त्यसको भरपुर उपयोग गर्नेतर्फ सहयोग गर्ने उनले बताए।
पूर्वअर्थमन्त्री समेत रहेका खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने बताएका छन्। संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समिति (संयुक्त) मा डा. खतिवडाले विगतमा आफू निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले निर्देशन पालना गर्ने तहमा भएकाले परराष्ट्रको निर्देशन अनुसार काम गर्ने बताएका हुन्।
उनले एमसीसीका सन्दर्भमा उठेका उपयुक्त कुराहरूलाई सच्याउने र फरक बुझाइका विषयमा स्पष्ट पार्न सहजीकरण गर्ने बताए। सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिंदै खतिवडाले एमसीसीका विषयमा उठेका विषयहरूमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने बताए। अमेरिकाले एमसीसी परियोजना लागू गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारिरहेकाले नेपालमा उठेका विषयहरू त्यहाँका अधिकारीहरूसमक्ष पुर्याएर सहजीकरण गर्न सकिने उनले बताए।
"हिजो म सरकारमा थिएँ, त्यहाँ एमसीसी पास गर्ने निर्णायक भूमिका हुन्थ्यो। अब परराष्ट्र मन्त्रालयले जे निर्देशन दिन्छ त्यो मात्रै पालना गर्ने तहमा छु। मेरा निजी विचार होलान् तर सरकारको निर्देशन पालना गर्ने हो। यहाँ जे कुराहरु उठेका छन्, केही उपयुक्त पनि छन्, केही फरक पनि छन्" उनले भने, "हाम्रो बुझाइले फरक भएका कुराहरू बुझाउने काम हुन्छ। त्यसमा स्पष्ट गर्नुपर्ने कुरा गरौँला। उहाँहरुले पनि भन्नुभएका कतिपय कुराहरुमा छलफल गरेर अगाडि बढ्न सकिन्छ भन्नुभएको छ।"
उनले अमेरिकाले नेपालमा विकास बाहेक अरू कुनै स्वार्थ नभएको बताएको स्पष्ट पारे। अहिले नेपालमा यूएसएआईडीले ठूलो सहयोग गरिरहेको उल्लेख गर्दै खतिवडाले त्यो सहयोगलाई नेपालको हित, प्राथमिकता र राष्ट्रिय बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने पनि बताए।
आफूविरुद्ध परेका उजुरीहरूमा जवाफ दिंदै खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमी कमजोरी भए पनि नैतिक र आर्थिक रुपमा आफू कमजोर नभएको बताए। २०औं वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा काम गर्दा कारबाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारबाहीमा परेकाहरूले उजुरी गर्नु सामान्य भएको उनले बताए।
उनले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिलाई छानबिन गर्न आग्रह गरे। कर प्रणालीलगायतमा केही गलत भएको भए छानबिन गर्न आग्रह गर्दै उनले भने, "संसदमा छलफल भएर कर प्रस्तावमा आएका कुराहरूमा पर्याप्त बहस भएका छन्। कमी छन् भने छानबिन गर्नुपर्छ। संसदीय समितिहरूले हेर्नुपर्छ। कहिलेकाहीं असल नियतले काम गर्दा गल्ती भएको हुनसक्छ। कहिले नियतै खराव भएर पनि काम गरेको हुनसक्छ। यो पदमा रहँदा मात्र हैन पदपछि व्योहोर्नुपर्ने कुरा हो। मैले गरेको कामको जवाफेहिता मैले लिन्छु। अर्थमन्त्रीको कार्यकाल सकियो भनेर मैले उन्मुक्ति पाउँदिनँ।"