त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयमा उपप्राध्यापक पदपूर्ति गर्न गत वर्षको कात्तिकदेखि पुससम्म परीक्षा सञ्चालन गर्यो। परीक्षाको उत्तरपुस्तिका परीक्षणका क्रममा पत्ता लाग्यो, दर्जनौं परीक्षार्थीले उत्तीर्ण हुन ‘चोर बाटो’ अपनाउन खोजेका रहेछन्।
उत्तरपुस्तिकाका परीक्षकसँग मिलेमतो गरी उत्तीर्ण हुने योजनासहित उनीहरुले उत्तरपुस्तिकामा आफ्नो परिचय खुल्ने पहिचान छोडेका थिए। उत्तरपुस्तिकाका परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको स्थानभन्दा अन्यत्रै नाम, फोन नम्बर तथा रोल नम्बर लेख्ने यस्ता परीक्षार्थीको परीक्षा नै आयोगले रद्द गरिदिएको छ। विभिन्न विषयमा यसरी परीक्षाफल रद्द हुनेको संख्या दुई सयभन्दा बढी छ।
चिकित्साशास्त्र संकायमा १६ जना, इञ्जिनियरिङमा १० जना, कृषि तथा पशु विज्ञानमा ६ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ७६ जना, मानविकी तथा समाजशास्त्रमा ५९ जना, शिक्षाशास्त्रमा ३० जना र व्यवस्थापन संकायमा ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।
आयोगले उपप्राध्यापक पदका आकांक्षी रहेका परीक्षार्थीले नै परीक्षाको मर्यादा उल्लंघन गरेको जनाएको छ। सेवा आयोग कार्यालयका प्रमुख केदारनाथ ढकालले भने, “उत्तरपुस्तिकामा झुक्किएर पहिचान छोडिएको होइन, अरु नै नियत हुनसक्ने देखिएपछि यस्ता परीक्षार्थीको परीक्षा नै रद्द गरिएको हो।”
“उत्तरपुस्तिकामा झुक्किएर पहिचान छोडिएको होइन, अरु नै नियत हुनसक्ने देखिएपछि यस्ता परीक्षार्थीको परीक्षा नै रद्द गरिएको हो।” - केदारनाथ ढकाल, प्रमुख, त्रिवि सेवा आयोग कार्यालय
सेवा आयोगले लोकसेवा आयोगको सहयोगमा शुरुमै उत्तरपुस्तिकालाई कोडिङ अर्थात संकेतीकरण गर्छ। दुई चरणमा हुने यस्तो कोडिङ गरिएपछि कुन परीक्षार्थीको उत्तरपुस्तिका हो भन्ने परीक्षकलाई थाहा हुँदैन। त्यसपछि, दुई चरणमा फरक-फरक परीक्षकले उत्तरपुस्तिका जाँच गरी नम्बर दिन्छन्। दुई परीक्षकबाट यसरी प्राप्त नम्बरलाई औसत मानेर अन्तिम नम्बर निर्धारण हुन्छ। आवश्यक परे तेस्रो चरणको समेत परीक्षण गरिने ढकाल बताउँछन्।
अन्तिममा सेवा आयोग आफैंले फेरि परीक्षार्थीको उत्तरपुस्तिका रुजु गरेर हेर्छ। यी सबै प्रक्रियामा परीक्षार्थीले पहिचान खुलाएका उत्तरपुस्तिका भेटिएकाले रद्द गरिएको हो।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष लिएको उपप्राध्यापक पदको लिखित परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरेको छ। करीब ५ हजार जनाले विभिन्न विषयमा लिखित परीक्षा दिएकोमा ५१३ जना मात्रै उत्तीर्ण भएका छन्। सेवा आयोगले विभिन्न विषयमा १६९ उपप्राध्यापक पदका लागि लिखित परीक्षा सञ्चालन गरेको थियो।