कार्यान्वयन हुँदैनन् संसदीय समितिका निर्देशन, चाँसो पनि राख्दैनन् समितिहरू
संघीय संसदका समितिहरूले दिएका निर्देशनहरू सरकारी तहमा कार्यान्वयन नहुने समस्या देखिएको छ। कोभिड पछिको अवस्थामा विभिन्न समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका निकायहरूलाई दिएका निर्देशन सरकारले पालना नगरेको पाइएको छ।
समितिले जनताको पीसीआर परीक्षण, क्वारेन्टिन व्यवस्थापन, उपकरण, अत्यावश्यक औषधी, नियमित स्वास्थ्य जाँच उपचार लगायतका विषयमा दिएको निर्देशन पालना नगरेको पनि पाइएको हो।
नेपालमा ११ चैत २०७६ मा बन्दाबन्दी हुनु अघि चीनको हुवाई प्रान्तको वुहानमा कोरोना देखिएपछि नेपालमा पर्न सक्ने प्रभावका विषयमा कानून न्यायन तथा मानवअधिकार समितिको ६ चैतमा बसेको बैठकले पहिलो निर्देशन दिएको थियो। जनसंख्या अनुसारको आईसीयू, आइसोलेसन बेड, अत्यावश्यक औषधी खरिद, बजार अनुगमन, सम्भावित जोखिम क्षेत्रको पहिचान र संरक्षण लगायतका विषयमा सरकारलाई निर्देशन दिएको थियो। त्यसपछि विभिन्न समितिले दुई दर्जनभन्दा बढी बैठक बसी कोरोना नियन्त्रण रोकथाम र नागरिकको स्वास्थ्य उपचारसम्बन्धी निर्देशन दिएका छन्।
पछिल्लो निर्देशन १८ असोज २०७७ मा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कोरोनाको कारण पर्यटन क्षेत्रमा परेको असरका बारेमा अध्ययन विश्लेषण गर्दै हवाई सेवा र होटल व्यवसाय सञ्चालन कसरी गर्न सकिन्छ भनेर सरकारसँग राय मागेको छ। यसबीचमा महिला तथा सामाजिक समिति, शिक्षा तथा स्वास्थ्य समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समिति, राज्य व्यवस्था समिति, विधायन तथा व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आफ्नो क्षेत्राधिकारभित्र रहेका मन्त्रालय, विभागलाई निर्देशन दिएका थिए।
निर्देशनहरू कुनै तत्काल कार्यान्वयन गर्नुपर्ने, कुनै नीति बनाउनुपर्ने, कुनै कानून परिमार्जन गर्नुपर्ने लगायतका छन्। तर यस्ता कुनै पनि काम सरकारले गरेको छैन्। सरकारले आफ्नो अनुकुल हुने कानूनको व्याख्या गरेर लागू गरेको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारले अहिले लागू गरेको संक्रामक रोग ऐन २०२० को सन्दर्भमा कानून सुधार गरेर मात्र लागू गर्नु भनि दिएको १९ बैशाष २०७७ को निर्देशन समेत पालना गरेको छैन्।
सरकारले निर्देशन पालना नगरेको विषयमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले सरकारले संसदीय समितिलाई हेपेको भनेर टिप्पणी गरेका छन्।
समितिका निर्देशनहरू कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्री र मन्त्रालयले अटेर गरे, अवज्ञा गरे समितिले सिधै प्रधानमन्त्रीलाई निर्देशन पठाउने व्यवस्था प्रयोगमा ल्याउन सक्नुपर्ने पनि उनले बताए। यस्तै लामो समय संसद सेवामा काम गरेका पूर्व सचिव मुकुन्द शर्माले पनि समितिहरूको प्रभावकारिता र सरकारलाई समितिप्रति जवाफदेहि बनाउन प्रधानमन्त्रीलाई निर्देशन पठाउने वा समितिमै बोलाएर निर्देशन दिन सकिने व्यवस्था नियमावलीमा भएको बताए।
समितिले दिने गरेका निर्देशनहरू एक आपसमा विरोधाभाष हुने, कार्यक्षेत्रभन्दा बाहिर निर्देशन दिने गरेको कारण पनि सरकारलाई निर्णय कार्यान्वयनबाट पञ्छिन सजिलो हुने गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सरकारलाई अनुकुल हुने निर्णयहरू कार्यान्वयनमा आउने गरेपछि प्रतिकुल हुने निर्देशनहरूको वास्ता नगर्ने प्रवृति रहेको बताउँछन्।
समितिले दिएका निर्देशनहरू सरकारले कार्यान्वयन गर्ने दायित्व भएपनि प्रतिकुल हुने अवस्थामा थाहा नपाएजस्तो गरेर सरकारले वास्ता नगर्ने र कार्यान्वयनका लागि प्राथमिकता नदिने गरेको उनले बताए।
समितिले दिएका निर्णयहरू कार्यान्वयन भए-नभएको अनुगमन र निगरानी गर्न सचिवालयसँग पर्याप्त कर्मचारी छैनन्। प्रवक्ता पाण्डेले कार्यान्वयन भए-नभएको अवस्था अनुगमन गर्न सिमित स्रोत नभएको बताए। कार्यान्वयन नभएको अवस्थामा पनि सांकेतिक रूपमा भएपनि निर्देशन कार्यान्वयनको अवस्था माग्ने गरेको उनले बताए।
समितिहरूले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए-नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन। यसका लागि सरकार जिम्मेवार हुनु त आवश्यक छ नै संसदीय समिति, सांसद र सचिवालयका कर्मचारीहरू समेत क्रियाशिल हुनु जरुरी देखिन्छ।