स्थायी राजधानी 'देउखुरी' र नाम 'लुम्बिनी' पारित गरेर सकियो प्रदेश ५ को छैटौं अधिवेशन
प्रदेश ५ को छैटौं अधिवेशन प्रदेशको स्थायी राजधानी र नामाकरण गरेर अन्त्य भएको छ। २० असोज राति १२ बजेदेखि अधिवेशन सकिएको हो। प्रदेशसभाको छैटौं अधिवेशनको अन्तिम बैठकले लामो समयदेखि बाँकी रहेको प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने कार्य सकाएको छ।
प्रदेश ५ को प्रदेशसभाले प्रदेशको राजधानी दाङ र अर्घाखाँचीका पालिकाहरू छोएको दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको छ।
प्रदशसभामा आज भएको मतदानमा नाम लुम्बिनी राख्ने पक्षमा ७९ जना र विपक्षमा ४ जनाले मतदान गरेका छन्। त्यसअघि प्रस्तावित राजधानी देउखुरी उपत्यकाको पक्षमा र ६९ मत र विपक्षमा १३ मत परेको थियो।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सोमबार प्रस्तावित नाम र राजधानीको विरोध गर्दै नाराबाजी र तोडफोड समेत गरेको थियो। सरकारले प्रदेशसभामा दर्ता गराएको नाम र राजधानीको प्रस्ताव पारित गराउनका लागि सत्तारुढ दल नेकपाले ह्विप नै जारी गरेको थियो।