केबलकार विवाद : प्रकृति र संस्कृति मिचेर कस्तो विकास?
पाथीभरा/मुक्कुमलुङमा केबलकार निर्माण नै अनुपम विकास हो भनेर जोरजबर्जस्तीमा लागिरहेको सरकार सहित सरोकारवाला सबैले बुझ्नुपर्छ, प्रकृतिको दोहन र समुदायको आस्थामाथिको चोट कहिल्यै निको हुँदैन।
पूर्ण पी राई
२०७७ फागुन ८ गते विराटनगरमा आयोजित आमसभामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, “स्टिमर चढेर चतराबाट ११ मिनेटमा भोजपुर र ११ मिनेटमा भोजपुरबाट चतरा आइपुग्न बाधा भएको एउटा ढुंगो क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दै छौं।”
नाम र ठाउँ नकिटे पनि उनको प्रस्ट संकेत अरुण र तमोरको संगमस्थलमा नदीको बीच भागमा रहेको चेप्टो ढुंगा थियो, जसलाई किराती समुदायले आफ्नो सांस्कृतिक आस्थाको धरोहर मानेर पुज्छ। त्यसको नाम खुवालुङ हो। किरातीहरूले यस्तै ढुंगा, माटो, खोला, पहाड पुज्ने हुन्, मन्दिर या मूर्ति हैन। त्यसैले उनीहरूलाई प्रकृतिपूजक भनिएको हो। खुवालुङसँग सृष्टि, सभ्यताको विकास, विश्वासबारेका दर्जनौं किराती मिथक जोडिएका छन्।
देशका प्रधानमन्त्रीलाई खुवालुङबारे थाहा नहुने कुरै भएन, तर फुटाएरै छाड्ने बताउनुले किरातीहरूले राज्यले सुनियोजित रूपमै आफ्नो आस्थामाथि आक्रमण गरेको महसूस गरे। किराती समुदायमा आक्रोश फैलियो। प्रधानमन्त्रीको भनाइको व्यापक विरोध भयो। खुवालुङ फुटाउन लागिसकेको ठेक्का स्थगित भयो। तैपनि राज्यले आधिकारिक रूपमा खुवालुङलाई संरक्षण गर्ने भनेको छैन।
प्रधानमन्त्रीको कुर्सीबाट ओली गए, शेरबहादुर देउवा आए। देउवा गएर पुष्पकमल दाहाल आए। दाहालपछि फेरि अहिले ओली छन्। ओली प्रधानमन्त्री हुनासाथ ताप्लेजुङको पाथीभरा (स्थानीय नाम मुक्कुमलुङ)मा जाने केबलकार बनाउने कामले तीव्रता पायो, स्थानीयको विरोधका बीच। स्थानीयले युगौंदेखि त्यो डाँडालाई मुक्कुमलुङ भन्दै आएका थिए। विसं. १८३१ पछि हिन्दूहरूले पनि आफ्नै किसिमले त्यो डाँडालाई पुज्दै आएका छन्। हिमालखबरमा २०७९ माघ ८ गते प्रकाशित लेखमा राम मादेनले विसं १९५० मा उक्त डाँडाको जग्गा दर्ता हुँदा पाथीभारा पानीढलो उल्लेख भएको, १९९० मा पञ्चकाली भनिएको लेखेका छन्। मुन्दुमी भाषामा मुक्कुमलुङ, हिन्दूहरूको पाथीभरा बहुधार्मिक, बहुसांस्कृतिक आस्था भएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण पहाड हो। तर सरकार आस्थाको कुरालाई उपेक्षा गर्दै बल प्रयोग गरेर भौतिक निर्माण गर्नुपर्छ भन्ने सोच राखे झैं अगाडि बढेको देखियो।
केबलकार निर्माणको विपक्षमा किराती मात्रै हैन, हिन्दू समुदायको पनि ठूलै संख्या छ। विकासको नाममा एउटा व्यापारीको पक्षमा लागेर सरकार जसरी पनि केबलकार बनाइछाड्ने पक्षमा छ। ‘नो केबलकार समूह’ को आन्दोलनका क्रममा माघ १२ गते गोली चल्यो। आन्दोलनकारीले माघ १५ गतेदेखि पूर्वी नेपालका नौ जिल्लामा अनिश्चितकालीन यातायात बन्द आह्वान गरे। त्यसपछि सरकारसँग तीन चरणमा भएको वार्तामा सहमति नजुटेपछि आन्दोलनकारी समूहले वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै माघ २८ गते आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ।
नांगो पूँजीवाद
हिमालखबरमा २०७८ जेठ २६ गते प्रकाशित दिलेन्द्र कुरुम्बाङको लेख ‘पाथीभरामा निसासिएको मुक्कुमलुङको पहिचान’ अनुसार २०३७ सालमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति नामक गैरसरकारी संस्था स्थापना भयो। २०५३ सालमा सरकारी तवरबाट पाथीभरा क्षेत्र विकास समिति गठन आदेश भयो।
पूँजीवादका जम्ल्याहा सन्तान हुन्- दलाल र एकाधिकार। सरकारी होस् या गैरसरकारी, पाथीभराको संरक्षण र प्रवर्द्धन गर्ने संस्थागत प्रयासको खोलभित्र क्रमशः दलाल पूँजीवादले हात छिराउँदै र फैलाउँदै गयो। मन्दिर लगायत भौतिक संरचना निर्माणमा दलाली र अनेक चलखेल हुने नै भए। केबलकार निर्माण गर्ने योजनासम्म आइपुग्दा मुक्कुमलुङ अतिक्रमणमा दलाल पूँजीवादले उत्कर्ष रूप लिएको छ। मुक्कुमलुङ क्षेत्रको जमीन पाथीभरा मन्दिर समितिका पदाधिकारीको नाममा पुग्नु, त्यसबाट बिक्री भएर विभिन्न कम्पनीको स्वामित्वमा पुग्दै अहिलेको केबलकार निर्माण कम्पनीसम्म पुग्दा दलाल र त्यससँग सम्बन्धित सरकारी कर्मचारीले राम्रै आर्थिक लाभ गरेको बुझ्न सकिन्छ।
केबलकार बन्ने कुरा उठ्नासाथ समाज पक्ष र विपक्षमा विभाजित हुन थाल्यो। मुक्कुमलुङ मान्ने लिम्बूहरू स्वयम् सबैभन्दा बढी विभाजित छन्। शुरूमा केबलकार बनाउन सहमति दिने कुनै अगुवा अहिले आन्दोलनमा लाग्नु, शुरूमा विरोध गर्ने कुनै अगुवा अहिले खुलेरै केबलकारको पक्षमा उभिनुलाई विचारको परिवर्तन मात्रै भनेर नपुग्ला। ‘नो केबलकार’ पक्षधर अगुवाहरू पनि केही समयपछि आन्दोलन सिध्याउने लाइनमा पुग्दैनन् भनेर ठोकुवा गर्न सकिंदैन। किनकि चर्को आन्दोलन गर्ने, अलिकति लाभसँग मूल मुद्दा साटेर नेतृत्वले पोल्टा भर्ने र समर्थकहरू हेरेको हेर्यै हुने नेपालका आन्दोलनहरूको साझा विशेषता हो। दलाल पूँजीवादको राज जो छ। भोजपुरको प्राकृतिक टावर टेम्केको टुप्पोमा सयतले टावर बनाउन डोजर चलाउने अगुवाहरू पनि केबलकार विरुद्धको आन्दोलनको अग्रभागमा छन्। किरात प्रदेशका लागि क्रान्ति गरेर कोशी प्रदेशमा सही ठोक्नेहरू हाम्रै अगाडि छन्।
पाथीभरामा केबलकार निजी कम्पनीले बनाउने हो, सरकारले हैन। नेपालमा केबलकार न यूरोपमा जस्तो पर्वतीय मनोरञ्जनको साधन बन्न सक्यो न त मध्य तथा दक्षिण अमेरिकामा जस्तो आमयातायातको साधन बन्न सक्यो। मेक्सिको सिटीमा बसभन्दा केबलकारको भाडा ८० प्रतिशत सस्तो र बोलिभियामा गाउँबाट शहर जान बसभन्दा १० गुणा कम समय लाग्ने समाचार पढ्न, सुन्न पाइन्छ। तर हामीकहाँ धार्मिक थलोमा ढोक्सो थापेर व्यक्तिगत कमाइको भाँडो बनेको छ। जहाँ जहाँ डाँडामा मन्दिर छ, त्यहाँ दुई-चार किलोमिटर केबलकार बनाउने, चर्को भाडा असुल्ने, हिंडेर जाने बाटो भत्काइदिने, केबलकारवालाकै दोकानमा सामान किन्नुपर्ने, उसकै होटलमा खानुपर्ने, बिरामीले लगेको तातो पानीको बोतल फोहोरको भाँडोमा फालिदिनुपर्ने जस्ता नियम बनाइन्छ। पाथीभरामा पनि हुने यस्तै हो। केबलकारका पक्षधरहरू पाथीभरामा उठ्ने भेटी र केबलकारबाट कमाइने पैसा एउटै बाकसमा हालेर खर्च गर्ने भन्दै छन्। यही हो एक जनाले मनपरी गर्न पाउने एकाधिकार पूँजीवाद। सरकारी कर्मचारी, राजनीतिकर्मी र अगुवाहरूले कमिशन खाइरहने, राज्यले चाहिं सत्रौं शताब्दीको दरमा राजस्व पाउने।
.jpg)
विकासका तीन खम्बा
पाथीभरामा केबलकार निर्माणको विरोध गर्नेहरूलाई विकास विरोधी भनिंदै छ। तर प्रकृति, संस्कृति, जनजीवनका पाटालाई बेवास्ता गरी भौतिक पूर्वाधार बनाउनु साँचो अर्थको विकास हैन। विकासबारे संयुक्त राष्ट्रसंघ, युनेस्को, अन्तर्राष्ट्रिय श्रम संगठन, दिगो विकास लक्ष्य सबैको सार यही हो।
प्राकृतिक सन्तुलन नखलबलिने गरी विकास गर्नु, स्थानीय जनसमुदायको परम्परा, आस्था र विश्वासको सम्मान र संवर्द्धन गर्नु, स्थानीय सीप, स्रोत र साधनको अधिकतम उपयोग र प्रवर्द्धन गर्नु, अरू सबै विकल्प सकिएपछि मात्रै आधुनिक प्रविधि प्रयोग गर्नु नै खास विकास हो। पाथीभरामा केबलकार निर्माण अगाडि बढाइँदा यी तीन वटै विषयलाई बेवास्ता गरिएको छ। केबलकार निर्माणका लागि २१ सयभन्दा बढी वयस्क रूख मेलैसित काटिंदै छन्। यसले प्राकृतिक सौन्दर्य क्षयीकरण गर्दै छ। जीवजन्तु र चराचुरुंगीको प्राकृतिक वासस्थान नष्ट हुँदै छ। साँघुरो चट्टानी पहाडमा अन्धाधुन्ध डोजर चलाइँदै छ। पाथीभरा क्षेत्रमा डोजरै डोजरले खोतलेर विकास गरिंदै छ। यीभन्दा पनि गहिरो गरी स्थानीयको भावनामा चोट लाग्दै छ। राज्यको बलजफ्तीले मुक्कुमलुङका आस्थावान्हरू यति मर्माहत छन्, आफ्नो पवित्र भूमि बचाउन उनीहरू ज्यान दिन समेत तयार छन्। उता, राज्य पक्षका जनप्रतिनिधिहरू ‘दुई-चार जना मर्दैमा केबलकारको काम नरोकिने’ भनेर स्थिति भड्काइरहेका छन्।
केबलकार बनाउने लगानीकर्ता र आसेपासेहरूले त निर्माणको पक्षमा अनेक तर्क खडा गर्ने भइहाले, अचम्म त केही सर्वसाधारण पनि भावुक कुरा गरेर यसको पक्षमा उभिएका देखिन्छन्। केबलकार नहुँदा ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरू पाथीभरा जान नसकेको, भरियालाई बोकाउँदा खर्चिलो पर्ने उनीहरूको तर्क छ। संसारभरि नै आदिवासी र स्थानीय समुदायका भावनासँग जोडिएका तथा धार्मिक आस्था गाँसिएका भौगोलिक तथा प्राकृतिक संरचनालाई जोगाउने अभियान चलेको छ। त्यस्ता भौगोलिक क्षेत्रलाई आधुनिक र ठूला भौतिक संरचनाबाट अलग राख्ने प्रयत्न बीसौं शताब्दीको मध्यबाटै शुरू भएको हो। उत्तर-पश्चिम भारतका प्रमुख देवस्थलहरूमा सरकारले आर्थिक क्षमता नभएर, आँटिला पूँजीपति नभएर वा आधुनिक प्रविधिबारे थाहा नभएर केबलकार निर्माण नगरेको होइन, प्रकृतिको विनाश नगर्ने सोचले हो। मानिसहरू कैयौं दिन हिंडेरै, हिंड्न नसक्नेहरू मानिसको काँध वा घोडा चढेर ती तीर्थस्थलमा जान्छन्।
पाथीभरामा केबलकार बन्यो भने त्यसमा आश्रितको रोजीरोटी गुम्ने कुरा त एउटा पाटो भयो। उनीहरू विस्थापित भएमा अन्य पेशा वा ठाउँमा फेरि स्थापित हुन सक्छन्। केबलकार कम्पनीले पनि कैयौंलाई रोजगारी देला। तर समुदायको आस्था कुल्चिएर बलजफ्ती केबलकार बनाइएमा पूँजीपतिहरू हौसिनेछन्। देशभरका त्यस्ता तीर्थस्थल क्रमशः एक-एक व्यक्तिको कब्जामा पर्दै जानेछ। ती क्षेत्रलाई आफ्नो मानेर बसिरहेका स्थानीय समुदाय अरूले रजाइँ गरेको टुलुटुलु हेरेर बस्नुपर्नेछ। तर सरकार सहित सरोकारवाला सबैले बुझ्नुपर्ने कुरा के हो भने, प्रकृतिको दोहन र समुदायको आस्थामाथिको चोट कहिल्यै निको हुँदैन।