ऐतिहासिक पुरुषोत्तम शमशेर राणाको निधन
ऐतिहासिक पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा बिहीबार निधन भएको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो राणाको निधन भएको छोरी विन्देश्वरी शाहले हिमालखबरलाई जानकारी दिइन्। रक्तचाप कम भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममै आज मध्याह्न १२:१३ बजे राणाको निधन भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनी ‘युरेमिक इन्सेफ्यालोपेथी (यूसी)’ रोगबाट पीडित थिए। यसले मिर्गौलाको समस्या नित्याउँछ।
राणा १०० वर्ष पुग्न केही महीना बाँकी थियो। राणा १९८२ चैत १५ गते चारबुर्जा दरबार (निर्वाचन आयोग भएको बहादुर भवन)मा जन्मिएका थिए। आफ्ना जिजुबुबा रुद्रशमशेरलाई जुद्धशमशेरले सर्वस्वहरण गरेर पाल्पा पठाउँदा राणा पनि सँगै गएका थिए।
पाल्पा दरबारमा लेखपढ सिकेका उनले भारतको यूपी बोर्डबाट म्याट्रिक, बनारसको जयनारायण कलेजबाट इन्टरमिडियट गरेका थिए। उनले बनारसको हिन्दू विश्वविद्यालयबाट उच्चशिक्षा हासिल गरेका थिए।
ऐतिहासिक राणाले लेखेका केही पुस्तक चर्चित छन्। राणाका श्री ३ हरूको तथ्य वृत्तान्त, जङ्गबहादुर र समकालीन दर्पण, राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, सम्झेका र सुनेका कुराहरू, भएका र गुज्रेका घट्नाहरू, लुकेछिपेका प्रतिभाहरू, मेरा जीवनका स्मृतिहरू लगायत पुस्तक प्रकाशित छन्।
यो पनि पढ्नुहोस् : पुरुषोत्तमशमशेरलाई इतिहास सुनाउने खटपटी